+
Search

ताजा अपडेट +

पपुलर +

बरेङको नीति “मेरो किताब, मेरो जतन”, बजेट रु. ३८ करोड १५ लाख ११ हजार

बरेङको नीति “मेरो किताब, मेरो जतन”, बजेट रु. ३८ करोड १५ लाख ११ हजार
बिशाल खबर
८ महिना अगाडी

ईबरेङ  ।
बागलुङको बरेङ गाउँपालिकाले असार ५ गते बुधबार देशका पालिकाहरु कै पहिलो स्थानमा नीति कार्यक्रम तथा बजेट सहितको गाउँ सभाको १३ औं अधिवेसन सम्पन्न गरेको छ ।

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा क्षेत्रगत प्रमुख नीति र प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू बरेङको विकासको साधन र साध्य दुवै बरेङवासी नागरिक भएको तथ्यलाई मध्यनजर गरी बरेङको विकासमा स्वयं बरेङवासीहरूको संलग्नता र प्राप्त विकासको प्रतिफल वितरणमा समन्यायिकता कायम गर्ने गरी वार्षिक नीति तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गरिएको छ ।

नेपालको संविधानमा उल्लिखित एकल र साझा अधिकारसूची, स्थानीय सरकारको जिम्मेवारी, संघ तथा प्रदेश सरकारको आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रमलाई समेत मध्यनजर गर्दै आर्थिक वर्ष २०८१।०८२का लागि आत्मसात गरिएका केही प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू तल उल्लेख गरिएको छ ।

क.आर्थिक क्षेत्रः

कृषि तथा पशुपन्छी विकासः
१. बरेङको सुख र समृद्धिको आधार आर्थिक विकास र आर्थिक विकासको प्रमुख आधार कृषि तथा पशुपन्छी विकास भएकाले यस क्षेत्रको आधुनिकीकरण र व्यावसायिकतामा जोड दिइने छ साथै गरिबी र बेरोजगारी न्यूनीकरण गर्न उत्पादन, उत्पादकत्व, उद्यमशीलता, आत्मनिर्भरता र स्थायित्व वृद्धि गर्ने क्षेत्रहरू प्रमुख प्राथमिकताहुनेछन्।

२. “कृषकको उत्पादन, स्थानीय सरकारको बजार व्यवस्थापन”अभियान अन्तरगत आन्तरिक बजारीकरणका लागि गाउँपालिका भित्रका विभिन्न स्थानहरूमा कृषि हाट बजारको व्यवस्था गर्नुकासाथै आन्तरिक बजारमा खपत हुन नसकेका कृषि उत्पादनलाई खेर जान नदिन र भण्डारण गरी उचित मूल्य प्राप्तिगर्न सहयोग पुर्याउने उद्देश्यका साथ कोल्डरुमको स्थापना गरी सञ्चालन गरिने छ ।

३. “बरेङको नीति, व्यावसायिक कृषि”को नारालाई साकार पार्न कृषिजन्य प्रविधि हस्तान्तरण, कृषकहरूलाई सिपमूलक तालिम, कृषि यान्त्रिकरण कार्यक्रमको व्यवस्था गरिने छर बाह्रै महिना मौसमी तथा बेमौसमी प्रजाती र उन्नत बिउबिजन तथा बेर्नाहरूको उपलब्धताका लागि गाउँपालिका स्तरीय नर्सरीको शुरुवात गरिने छ ।

४. विषादी र रसायनयुक्त कृषि उपजको उपभोगका कारण जनस्वास्थ्यमा परिरहेको गम्भिर समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाका कृषकहरूलाई कम्पोष्ट तथा जैविक मलको प्रयोग गरी रसायनिक मलको प्रयोगलाई निरुत्साहित गर्ने नीतिलाई निरन्तरता दिइने छ र क्रमशः अर्गानिक कृषियुक्त र विषादीमुक्त गाउँपालिकाका रूपमा स्थापित हुने प्रयास गरिने छ ।

५. “कृषि र कृषक, अरुभन्दा पृथक”को मान्यतालाई सबलीकरण गर्नका लागिकृषक र कृषि पेशालाई सम्मानजनक रूपमा स्थापित गर्न कृषिको महत्वलाई स्थानीय पाठ्यपुस्तकमा समेत समावेश गरिने छ ।

६. कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ पुरुषोदय मा।वि मा सञ्चालित कृषि प्राविधिक शिक्षालाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सहयोग र सहजिकरण गर्दै उत्पादित जनशक्तिलाई गाउँपालिकाभित्रका कृषिजन्य परियोजनाहरूमा परिचालनको पहल गरिने छ ।

७. अण्डा र दुधमा आत्म निर्भर गाउँपालिकाका रूपमा स्थापित हुनका लागि नश्ल सुधार कार्यक्रम र विभिन्न अनुदानको व्यवस्था गरिने छ ।

८. व्यावसायिकताका नाममा हाम्रा रैथाने बिउ बिजन र पशुपन्छी लोप हुन नदिनसचेतनात्मक कार्यक्रम र संरक्षणको पहल गरिने छ जस अन्तरगत पहिलो चरणमा स्थानीय खरिबाख्रा संरक्षण कार्यक्रमको व्यवस्था गरिने छ ।

९. “गाउँकै आटो, गाउँकै माटो” को नारा सहित आन्तरिक कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नका लागि गाउँपालिका मातहतका कार्यालयहरूमा गरिने विभिन्न कार्यक्रमहरू र विद्यालयहरूमा प्रदान गरिने दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनबाट तयार हुने खाजा्खानाको प्रयोग गर्ने नीति लिईनेछ जसले सार्वजनिक खर्च कटौतीका साथै स्थानीय उत्पादन वृद्धिलाई समेत टेवा पुर्याउनेछ ।

१०. पशुपन्छीजन्य महामारी न्यूनीकरण गर्न र स्वच्छ र स्वस्थ पशुजन्य उत्पादनमा टेवा पुर्याउनका लागि भेटेरीनरी प्रयोगशालाको स्थापना गरी सञ्चालन गर्नुका साथै पशुस्वास्थ्य परीक्षण कार्यक्रमरपशु स्वास्थ्य घुम्ती शिविरको आयोजना गरिने छ ।

११. गाउँपालिका भित्र रहेका निर्यातयोग्य जडिबुटी, वस्तु तथा कृषि उत्पादनहरूको पहिचान गरी सामुदायिक वन, सहकारी तथा कृषि समूहसँगको सहकार्यमा स्थानीय उत्पादन ब्राण्डिङ तथा बजारीकरण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने छ ।

१२. गाउँपालिका भित्रका कृषियोग्य जमिनको गैरकृषिजन्य प्रयोगलाई निरुत्साहित गरिने छ साथै कृषि उत्पादनका लागि महत्वपूर्ण जमिनमा वर्षभरिनै पर्याप्त सिंचाइको व्यवस्था मिलाइने छ ।

१३. बोटदेखि ओठसम्म, बिउदेखि बजार सम्म कृषकसँगै गाउँपालिका अभियानलाई निरन्तरता दिई कृषि क्षेत्र र कृषकका हरेक चरणका आवश्यकताहरूमा गाउँपालिकाबाट सहयोग र सहजीकरण गर्ने नीति कार्यान्वयनगरिने छ ।

१४. हाल विद्यमान सक्नेले थलो छाड्ने, नसक्नेले हलो छाड्ने नकरात्मक प्रवृत्तिलाई न्यूनीकरण गर्न “थलो नछोडौं, बाँझो नराखौं अभियान सञ्चालन गर्दै लागत साझेदारीमा एक घर १०० बोट फलफूल कार्यक्रमको व्यवस्था गरिने छ ।

१५. कृषि तथा पशुपन्छी विकासमा कृषक समूह, समिति, सहकारी, गैरसरकारी संस्था र स्थानीय सरोकारवालाहरूसँग साझेदारीलाई निरन्तरता दिइने छ ।

१६. विगतमा स्थापना गरी सञ्चालित कृषि पकेट क्षेत्रलाई निरन्तरता दिँदै च्याउ पकेट, कुरिलो पकेट क्षेत्र र नमूना सून्तला बगैंचा कार्यक्रमको व्यवस्था गरिने छ ।
१७. गाउँपालिकाले विभिन्न समयमा प्रदान गरेका अनुदान कार्यक्रमहरूको नियमित अनुगमन गरी अनुदानको दुरूपयोग गर्ने व्यक्ति, समूह तथा संस्थालाई भविष्यमा गाउँपालिकाको तर्फबाट प्रदान गरिनेकुनै पनि प्रकारको अनुदानबाट वञ्चित गर्ने नीति कडाइका साथ लागू गरिने छ ।

पर्यटनः
१. बरेङको सान, आन्तरिक पर्यटनूको मूल नारालाई निरन्तरता दिँदै पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रूपमाविकास गर्नका लागि होमस्टे सञ्चालन तथा पर्यटन प्रवर्द्धन सम्बन्धी पूर्वाधार विकासमा जोड दिइने छ ।

२. गाउँपालिका भित्रका साग्दी सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे डाँडा, छहरेखोला, भैंसेखोला झरना, बरेङ फनपार्क, भित्रीवन देउराली, तमुखोला हरितपार्क, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकासलाई निरन्तरता दिइने छ।संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा साग्दी सत्यवती पदमार्ग निर्माणको लागि पहल गरिने छ ।

३. गाउँपालिकाभित्र रहेका हरिया वनजङ्गल र जीवजन्तुहरूको प्राचुर्यतालाई मध्यनजर गरी सामुदायिक वन उपभोक्ता समितिहरूलाई जैविक पर्यटन विकासको लागि प्रोत्साहन गरिने छ ।

४. गाउँपालिकामा आउने पर्यटकहरूलाई शत प्रतिशत स्थानीय उत्पादनमा आधारित परिकार, स्थानीय स्तरमै उत्पादितमायाको चिनो ९टोकन अफ लभ० को व्यवस्था गर्दै स्थानीय उत्पादनलाई पर्यटन प्रवर्धन र आर्थिक विकाससँग जोडिनेछ ।

उद्योग, उद्यमशीलता तथा सहकारिता

१. बरेङको चिन्तन, उद्यमशिलता प्रवर्द्धन को सोच सहित उद्यमशिलता विकास गर्न विभिन्न सिपमूलक तालिम र तालिम पश्चात निश्चित मापदण्डका आधारमा स्टार्टअप पुँजीको प्रबन्ध मिलाईनेछ ।

२. उद्यमशीलता र औद्योगिक विकासलाई प्रवर्द्धन गर्नका लागि गाउँपालिकाको आर्थिक विकासको प्रमुख अवयवका रूपमा विकास गर्नका लागि घरेलु तथा साना उद्योग स्थापनाका लागि प्रोत्साहन गर्नुका साथै हाल गाउँपालिका भित्र सञ्चालित यस्ता उद्योग व्यवसायलाई संरक्षण र सहयोग गर्ने नीति अवलम्बन गरिने छ ।

३. स्थानीय कच्चपदार्थ, स्रोत साधन र जनशक्तिको परिचालन गरी लघु तथा घरेलु उद्योग स्थापना र सञ्चालन गरिने छ जस अन्तर्गत जडिबुटी प्रशोधन,चिया मसला,अल्लो प्रशोधन, नेपाली कागज उत्पादनसँग सम्बन्धित घरेलु उद्योग सञ्चालनमा सहयोगगरिने छ ।

४. विगत वर्षहरूमा गाउँपालिकाद्वारा तालिम प्रदान गरी सञ्चालन गरिएका होजियारी, साबुन तथा सरसफाइजन्य उत्पादन, आलु चिप्स, अचार व्यवसाय आदिलाई विभिन्न सहयोग प्रदान गरी थप व्यावसायिक र व्यवस्थित बनाउन सहयोग गरिने छ ।

५. युवा, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, विपन्न र आर्थिक तथा सामाजिक रूपमा पिछडीएका व्यक्तिहरू र लक्षित वर्गहरूका लागि सिपमूलक एंव आयमूलक तालिमको व्यवस्था गरी उद्यमशीलता प्रवर्धन र आत्मनिर्भरता विकासका लागि कानुनी, प्रशासनिक र प्रक्रियागत सहजीकरणका अतिरिक्त प्रोत्साहनको व्यवस्था गरिने छ ।

६. हाल देशव्यापी रूपमा देखिएको सहकारी सम्बन्धी समस्या र विकृतिहरूप्रति सचेत रहँदै गाउँपालिका भित्र रहेका सहकारीहरूलाई नियमित रूपमा नियमन गर्नुका साथै आम बरेङवासीहरूमा सहकारी शिक्षाको व्यवस्था गरिने छ ।

ख. सामाजिक विकासः
शिक्षा क्षेत्रः
१.“बरेङको इच्छा, प्राविधिक र गुणस्तरीय शिक्षा”भन्ने हाम्रो सरकारको सोचलाई व्यावहारिक रूपमा कार्यान्वयनको दिशामा अगाडि बढाउने नीति अवलम्बन गरिने छ ।

२. सामुदायिक विद्यालयहरू क्रमशः पूर्वाधारका हिसाबले सुविधा सम्पन्न हुँदै गइरहेको र संघ, प्रदेश र स्थानिय सरकारले वर्षेनी ठूलो धनराशी लगानी गरिरहेको अवस्थामा विद्यालहरूसँग साझेदारी गरी शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक कार्यहरू गर्ने गराउने उद्देश्य सहित गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई शैक्षिक गुणस्तरसँग आबद्धता गरिने छ ।

३. शिक्षामा प्रविधि बरेङमा समृद्धि अभियानलाई निरन्तरता दिँदै प्रविधिमैत्री विद्यालय निर्माण गर्ने कार्यमा विशेष जोड दिइने छ ।

४. कक्षा ६ का विद्यार्थीहरूका लागि प्रदान गरिँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

५। विद्यालयका लेखामा काम गर्ने कर्मचारी तथा सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताहरूलाई प्रोत्साहन गरिने छ ।

६. गाउँपालिका स्तरीय सिकाइ उपलब्धी मापन परीक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन, निःशुल्क परीक्षा जस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।

७. राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई थप व्यवस्थित गरी सञ्चालन गरिने छ ।

८. दलित, विपन्न, जेहेन्दार छात्रवृत्ति साथै प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति मार्फत शैक्षिक पहुँच अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिँदै विपन्न विद्यार्थीहरूका लागि आवास सहितको शिक्षाको थालनी गरिने छ ।

९. विषय विज्ञ सहितको टोली मार्फत् विद्यालयको सुपरिवेक्षण गरी शिक्षकको पेसागत क्षमताको अभिवृद्धि गरिने छ ।

१०. विद्यालय समायोजन तथा कक्षा घट गरी जहाँ विद्यार्थी तहाँ शिक्षकू व्यवस्थापन गरी शैक्षिक गुणस्तर सुधार अभियानमा जोड दिइने छ र यसरी कक्षा थप, घट गरिने तथा गाभिएका वा बन्द भएका विद्यालयहरूको सम्पत्ति आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने कार्यलाई तिव्रता दिइने छ ।

११. सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरूको दरबन्दी मिलान, व्यवस्थापन, पुनर्वितरण एवं दरबन्दी सिर्जना विद्यालयको आवश्यकता तथा तह र शिक्षकको योग्यता एवं दक्षताको आधारमा गरिने छ ।

१२. विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि एक विद्यालय एक पुस्तकालय, सघन विद्यालय अनुगमन, शैक्षिक सामग्री तथा पाठ्यसामग्री वितरण,स्थानीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम, शिक्षकहरूलाई स्थलगत रूपमा कम्प्युटर तालिम कार्यक्रम संचालन गरिने छ ।

१३. प्रअ र शिक्षक बैठकमा यातायत खर्चको व्यवस्था, युवाक्लवहरूलाई प्रोत्साहन गर्न खेल सामग्री वितरण, प्रत्येक विद्यालयमा करेसाबारी निर्माण, बालशिक्षक, कर्मचारी, तथा सामुदायिक सिकाई केन्द्रका परिचालकको क्षमता वृद्धि, शिक्षक, विद्यार्थी सम्मान गर्न शैक्षिक कोष स्थापनालाई निरन्तरता दिइने छ ।

१४. परम्परागत सिपको हस्तान्नतरण र आधुनिक सिप प्रदान गरी बालवालिकाहरूलाई सिप र सिकाइ सँगसँगै गराउने उद्देश्यका साथ सिक्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ ।

१५. अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न र विद्यार्थीहरू र विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्यका साथ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।

१६. शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको पेसागत क्षमता विकास गर्न शिक्षकको आवश्यकताका आधारमा शैक्षिक तालिम सञ्चालन गरिने छ, सामुदायिक विद्यालयका छात्राहरूलाई स्यानिटरी प्याडको सहज उपलब्धता गराइने छ ।

१७. गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय प्राथमिक तह भन्ने नाराका साथ बालविकास तथा प्राथमिक तहमा शिक्षण गर्ने जनशक्तिको विकास, शिक्षा र शिक्षण पद्धतिको सुधारका लागि आवश्यक व्यवस्था मिलाईनेछ ।

१८. शैक्षिक सत्र २०८० देखि कक्षा ८ सम्म लागू भएको स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई थप सहज बनाउन क्रमशः बाँकी कक्षा ३ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण गरिने छ ।

१९. माध्यमिक विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्नको लागि विभिन्न सफ्टवेयरको व्यवस्थापन गरी प्रयोगमा ल्याईनेछ ।

२०। उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी तथा पदाधिकारीहरूलाई प्रोत्साहन गरिने छ ।

२१. बालबालिकाहरूमा राष्ट्रियता, स्वाभिमान, नैतिकता र असल नागरिकको रूपमा स्थापित गर्नकक्षा १ देखि कक्षा ८ सम्मको लागि निर्माण गरिने स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकहरूमा सो विषयहरू समावेश गरिने छ ।

२२. “मेरो पहिरन, मौलिक पहिचान”को मान्यता सहितविद्यालय तहबाटै विद्यार्थीहरूमा आफ्नो मौलिक संस्कृतिको पहिचान र संरक्षण गर्ने उद्देश्यका साथ हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थीहरूले विद्यालय पोशाकको सट्टा आफ्नो मौलिक संस्कृति झल्कने पोशाकमा आउन सक्ने व्यवस्था मिलाइनेछ ।

२३. गाउँपालिकाद्वारा निःशुल्क वितरण गरिने स्थानीय पाठ्यपुस्तक छपाईमा मितव्ययितता कायम गर्ने उद्देश्यका साथ “मेरो किताब, मेरो जतन”को नारा सहित शैक्षिक सत्रको अन्त्यमा स्थानीय पाठ्यपुस्तक फिर्ता गर्नुपर्ने र पुनः प्रयोग गर्न सकिने अवस्थाका पुस्तकहरू पुनः प्रयोग गर्ने व्यवस्था समेत मिलाइनेछ ।

२४. उच्च शिक्षा प्रदान गर्नका लागि सहयोग गरिरहेको गाउँपालिकाको एक मात्र सामुदायिक क्याम्पस सञ्चालनका लागि विगत देखिको सहायतालाई निरन्तरता दिइने छ ।

ग. स्वास्थ्य क्षेत्रः
१. “सुरक्षित मातृत्व, सबैको दायित्व” भन्ने नारालाई चरितार्थ गर्न गर्भवती महिला र नवशिशुको स्वास्थ्य सुरक्षाको लागि घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्दै “घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा पूर्व तयारी कार्यक्रम”लाई तिव्रता दिइने छ, बर्थिङ सेन्टरहरूमा सञ्चालित आमा प्रतिक्षा घरलाई थप व्यवस्थित गरिने छ ।

२. क्यान्सर, मृगौला, मुटु रोग, मधुमेह, श्वास प्रश्वास रोग जस्ता नसर्ने रोगको बढ्दो विकराल समस्यालाई मध्यनजर गर्दै उक्त रोगहरूको स्क्रिनिङ्ग मार्फत समयमै उपचार तथा प्रेषण गर्न “प्रयोगशाला परीक्षण अभियान” कार्यक्रम सञ्चालन गरिने छ ।

३. गाउँपालिकाभर कार्यरत सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवाको उच्च सम्मान गर्दै “बरेङको अभियान, स्वयंसेविकालाई सम्मान” कार्यक्रम अन्तरगत मोबाइल स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, तालिम कार्यक्रम आदि सञ्चालन गरिने छ ।

४. पुरानो चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न, स्वस्थकर जीवनशैली अपनाउन र योग, ध्यान मार्फत निरोगिता प्राप्त गर्नको लागि नागरिक आरोग्य सेवा केन्द्र बरेङ मार्फत योग अभ्यास कार्यक्रम, अन्तरक्रिया, अभिमुखीकरण, कार्यक्रम सबै वडाहरूमा बिस्तार गर्न “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” कार्यक्रम लागु गरिने छ । हाल सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रलाई थप व्यवस्थित र सेवामूखी बनाइनुका अलवा योगको महत्वलाई स्थानीय पाठ्यपुस्तकमा समेत समावेश गरिने छ ।

५. स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी, समय सापेक्ष र गुणस्तरीय बनाउन औषधी तथा औजार उपकरणले सुसज्जित बनाईनुको साथै स्वास्थ्यकर्मीहरूलाई समयानुकुल तालिम र प्रोत्साहनको व्यवस्था गरिने छ । गाउँघर क्लिनिक, खोप क्लिनिक तथा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई नियमित र व्यवस्थित गरिने छ र यसरी खटिने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गरिने छ ।

६. हाम्रा स्वास्थ्य संस्थाहरूमा सेवा लिने बिरामीहरूको संख्या, रोगको प्रकार, मौजुदा औषधीहरूको परिमाण आदिका सम्बन्धमा गाउँपालिका वा अन्य कुनै पनि स्थानमा रहेर थाहा पाउने पद्धतिको विकास गर्न आवश्यक पर्ने डेक्सटप, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन उपलब्ध गराइ स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाइनेछ । यसबाट बढ्दो कागजको खपत, यसबाट हुने आर्थिक नोक्सानी र आगलागी, भूकम्प आदिको कारण डाटाहरूनष्ट हुनेजस्ता जोखिम समेत कम हुने अपेक्षा गरिएकोछ ।

७. स्वास्थ्यचौकीहरूमा सञ्चालित सामुदायिक औषधी कार्यक्रमलाई थप व्यवस्थित र जनमुखी बनाइने छ ।

८. “बरेङको लक्ष्य,मानसिक रोगको अन्त्य” को नारा सहितहाल देशव्यापी रूपमा फैलिएको मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यस सम्बन्धमा रहेको गलत धारणा र न्यून जनचेतनालाई अन्त्य गरी सामान्य उपचारको अभावका कारण जटिल मानसिक समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम र मनोपरामर्शको व्यवस्था गरिने छ ।

९. स्वास्थ्य संस्था प्रमुखहरूको बैठक केन्द्रिकृत रूपमा गाउँपालिकास्तरमा भन्दा प्रत्येक महिना फरक फरक स्वास्थ्य संस्थाहरूमा आयोजना गर्दा नयाँ सिकाई आदानप्रदान हुने र अनुसरणयोग्य क्रियाकलापहरूलाई आफ्नो स्वास्थ्य संस्थामा समेत लागु गर्न सकिने भएकोले घुम्ति मासिक बैठकको अवधारणा ल्याइनेछ।उक्त बैठकमा सम्बन्धित वडाको वडा अध्यक्ष र सामाजिक विकास समितिका संयोजक अनिवार्य उपस्थित हुने व्यवस्था गरिने छ। स्वास्थ्य संस्था प्रमुखहरूबाटै निश्चित सूचकहरू तयार गरी सबै भन्दा बढी अंक प्राप्त गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने छ ।

१०. गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई समय समयमा सामुदायिक विद्यालयहरू, आमा समुहका बैठक तथा समुदायमा परिचालन गरी स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिने छ ।

११. बाल पोषण कार्यक्रम, स्वास्थ्य संस्था सञ्चालन अनुदान, छपाइ व्यवस्थापन, गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परीक्षण कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा जस्ता प्राथमिकता प्राप्त कार्यक्रमहरूलाई निरन्तरता दिइने छ ।

घ. श्रम तथा रोजगारीः
१. “बरेङको उदगार, अति विपन्नलाई रोजगार”को मान्यता सहित गाउँपालिकाभित्र रहेका अति विपन्न नागरिकहरूलाई विभिन्न योजना तथा कार्यक्रमहरूमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै उपलब्ध अवसरहरूमा प्राथमिकता दिइने छ ।

२. रोजगार संवाद मञ्चसकार्यक्रमलाई निरन्तरता दिँदै समग्र गाउँपालिकाको रोजगारी अवस्था विश्लेषण गर्ने, आन्तरिक रोजगारी सिर्जना गर्नका लागि निजी संघ संस्था, सहकारी तथा गैरसरकारी संस्था, निर्माण व्यावसायी, लघु व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३. वैदेशिक रोजगारीमा जाने नयाँ तथा पुराना व्यक्तिहरूको श्रम स्वीकृतिका लागि सहजीकरण गर्ने साथै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका, अलपत्र परेका व्यक्तिहरूलाई राहत उद्धारमा रोजगार सेवा केन्द्र मार्फत सहजीकरणको कार्यलाई निरन्तरता दिइनेछ ।

४. सामुदायिक पूर्वाधारका योजनाहरूलाई कार्यान्वयन गर्न साझेदारी प्रक्रियालाई निरन्तरता दिइने छ। रोजगारलाई तालिमसँग जोडेर खाली सार्वजनिक जग्गामा आम्दानी हुने खालको कृषिजन्य उत्पादनमा जोड दिँदै निर्यात गर्नका लागि थप रोजगार सिर्जना गरिने छ ।

५. कामदार बढी र निर्माण सामग्री कम लाग्ने विभिन्न आयोजनाहरूमा सूचीकृत बेरोजगारलाई काम दिने व्यवस्थालाई निरन्तरता दिइने छ ।

६. गाउँपालिकाको रोजगार सम्बन्धी रणनीतिलाई अद्यावधिक गरी वास्तविक बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, दक्ष अदक्ष कामदारको विवरण तयार पार्ने र स्वरोजगार भएका व्यक्तिहरूलाई टिक्ने वातावरण तयार गरिने छ ।

७. श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम मार्फत टोलटोलमा सूचनात्मक तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने छ ।

८. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनामा काम गर्नुपूर्व स्थलगत अभिमुखीकरण तालिम गरी कार्यस्थल सुरक्षा सामग्रीको व्यवस्था र कार्यस्थल दुर्घटना बिमामा सहजीकरणको कार्यलाई निरन्तरता दिइने छ ।

९.“काम गर्ने, भोकै पर्ने” विरोधाभाषपूर्ण परिस्थितिको अन्त्य गर्न श्रमको सम्मान गर्ने संस्कारको विकास गर्दै श्रमिक मजदुरहरूको सामाजिक सुरक्षा र आर्थिक सक्षमता विकासको लागि व्यवस्था गरिने छ र स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा श्रमको सम्मान र महत्त्वलाई समावेश गरिने छ ।

१०. स्थानीय स्तरमा उपभोक्ता समितिहरू मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमहरूमा आवश्यक जनशक्तिका लागि रोजगार सेवाकेन्द्रमा सूचीकृत हुने व्यक्तिहरूलाई प्राथमिकता दिइने छ ।

ङ. भाषा संस्कृती ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
१. सामाजिक सदभाव, धार्मिक सहिष्णुता, पारस्परिक सहयोग, मेला पर्म, ऐँचोपैँचो, धर्मभकारी जस्ता हाम्रा परम्परागत असल अभ्यासहरूलाई सामाजिक पुँजीका रूपमा स्थापित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने व्यवस्था मिलाइनेछ ।

२. मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर सँस्कृति र अन्य जातजातिहरूका समेत परम्परागत भेषभुषा, बाजा, भाँडाकुडा आदिलाई संरक्षण गर्न एक साँस्कृतिक घर्संग्राहलयको स्थापनाको लागि पहल गरिने छ ।

३. प्रथा र परम्पराका रूपमा स्थापित सामाजिक कुसंस्कार र सबै किसिमका जातीय तथा लैङ्गिक विभेदको न्यूनीकरण गरी कुप्रथामुक्त गाउँपालिका निर्माण गर्ने नीति अवलम्बन गरिने छ र गाउँपालिका भित्रका दलित र गैरदलित जोडीबीच विवाह गरेमा सम्मानगरिने छ । साथै दलित समुदायको परम्परतागत सीपको संरक्षण र आधुनिकीकरणको व्यवस्था गरिने छ ।

४. विभिन्न कारण सम्बन्धविच्छेद भै बसेका गाउँपालिकाभित्रका एकल महिलाहरू जसले राज्यबाट कुनै पनि प्रकारको विशेष संरक्षण वा सुविधा प्राप्त नगरेको अवस्थालाई मध्यनजर गर्दै सिपमूलक तालिम कार्यक्रममा प्राथमिकता दिइने छ ।

५. लैङ्गिक भेदभाव अन्त्य गर्न छोरी हाम्रो रोजाइकार्यक्रम मार्फत १ वा २ वटा छोरी पश्चात् परिवार नियोजन गर्ने दम्पतीहरूलाई सम्मान गर्ने नीतिलाई निरन्तरता दिइने छ ।

६. सामाजिक न्यायलाई जनस्तरमा पुर्याउन वडास्तरमा मेलपिलाप विस्तार गरिएका मेलमिलाप केन्द्रलाई सुदृढीकरण गर्दै न्यायिक समितिलाई थप प्रभावकारी बनाइनेछ ।

७. आर्थिक तथा सामाजिक रूपमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकहरूको सशक्तीकरणका लागि सचेतना,सिप, रोजगारी वा संरक्षणको नीति अवलम्बन गर्नुका साथै जनताको दुःख सुखमा जनप्रतिनिधिको मान्यता आत्मसातगरिने छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक
८. “समनता र समता बरेङको प्रतिबद्धता”को नारा सहित महिला, बालबालिका, जेष्ठनागरिक, दलित, अपाङ्गता भएका व्यक्ति लगायत सबै लक्षित समुह र आर्थिक सामाजिक रूपमा पिछडिएका समुदायलाई राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थाका अतिरिक्त लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परीक्षणको व्यवस्था मिलाईनेछ ।

९. आमा खुसी, घर सुखी भन्ने मान्यता स्थापित गर्दै महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको न्यूनीकरण सम्बन्धी कार्यक्रमको व्यवस्था गरिने छ। पुरुषहरूद्वारा हुने घरेलु महिला हिंसालाई निरुत्साहित गर्न र लुकाउने छिपाउने प्रवृत्तिलाई रोक्न हिंसा नगरौँ, हिंसा नसहौँ अभियान सञ्चालन गरी पुरुषहरूका लागि समेत लैंगिक हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रमका अतिरिक्त असल श्रीमान् कार्यक्रमको थालनी गरिने छ।

१०. विगतदेखि सञ्चालित उमेर चौरासी सम्मान कार्यक्रम र जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप परिमार्जन सहित निरन्तरता दिंदै जेष्ठ नागरिकहरूका अनुभव, भोगाइ र विगतका पुराना असल प्रथा एवं प्रचलनहरूको संकलन तथा संरक्षण गरी नयाँ पिँढीमा हस्तान्तरण गर्न “वृद्ध वृद्धा सँग नयाँपुस्ता दङ्ग”कार्यक्रम आयोजना गरिने छ ।

११. गाउँपालिका भित्रका १०० वर्ष वा सो भन्दा बढी उमेरका जेष्ठ नागरिकहरूलाई उहाँहरूको घरमै पुगी सम्मान गर्न बरेङवासी,शताब्दी सम्मान कार्यक्रमलाई व्यवस्था गरिने छ ।

१२. बालबालिकाहरूको चौतर्फी विकास र बाल अधिकार संरक्षणका लागि आवश्यक व्यवस्था गर्दै बाल प्रतिभा पहिचान कार्यक्रमको माध्यमद्वारा बालबालिकाहरूमा अन्तरनीहित प्रतिभा प्रस्फुटन गरिने छ । विगतमा सञ्चालित उज्यालो बाल बचत कार्यक्रम लाई निरन्तरता दिंदै बालमैत्री गाउँपालिकाका रूपमा रूपान्तरण गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका,२०७८ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले निर्दिष्ट गरेका व्यवस्थाहरू कार्यान्वयनको प्रबन्ध मिलाइने छ ।

१३. हाल मुलुकभर तीव्र रूपमा फैलिएको यौन शोषण र बलात्कार जस्तो जघन्य अपराधलाई रोक्न यस सम्बन्धी विद्यालय स्तरबाटै चेतना जगाउने र महिला हिंसा, बलात्कार, विद्यालयमा हुने लैंगिक तथा यौन हिंसा लगायतका कुकार्य र अपराधको विरुद्ध ूशून्य सहनशीलता र सामाजिक बहिष्करणूको नीति अवलम्बन गरिने छ । किशोरी सम्मेलन कार्यक्रमको आयोजना गरी बालविवाह,यौनहिंसा, किशोरी र यौनशिक्षा बारे सचेतना प्रदान गर्ने व्यवस्था गर्नुका साथैकिशोरीहरूका लागिआत्मरक्षा कार्यक्रम लाई निरन्तरता दिइनुका साथै किशोरी सम्मेलन कार्यक्रमको व्यवस्था गरिने छ ।

च. युवा तथा खेलकुद विकास
१. “युवा हामी बरेङको विकासको लागि”को मान्यतासहित सबै युवा वर्गहरूलाई गाउँपालिका विकासको विभिन्न क्षेत्रहरूमा सहभागी गराउने नीति अनुरूपगाउँपालिकाभित्र सञ्चालित योजना, कार्यक्रमहरूमा युवाहरूको सिप तथा क्षमताका आधारमा रोजगारीको अवसर सिर्जना गरिने छ ।

२. खेलकुदलाई अनुशासन, मनोरञ्जन र स्वास्थ्यसँग आबद्ध गर्दै“एक स्थानीय तह एक खेलमैदान” निर्माण कार्य लाई जोडदिइने छ ।साथै गाउँपालिका भित्रका राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्ने खेलाडीहरूको लागि सम्मान तथा प्रोत्साहनको व्यवस्था गरिने छ ।

३..गाउँपालिकामा दर्ता भएका युवा क्लवहरूको लागि विभिन्न खेल विधाहरूको प्रवर्द्धन गर्न समय समयमा खेलसामग्रीसहित प्रशिक्षणको व्यवस्था गरिने छ ।

४. युवाहरूलाई जाँड रक्सी, कुलत र दुर्व्यसनीबाट मुक्त गराउनसचेतनात्कमक कार्यक्रमको व्यवस्था सहित आवश्यक कदम चालिनेछ ।

५. गाउँपालिकाभित्र रहेका विभिन्न युवा क्लवहरूलाई समाज सुधार तथा विकास कार्यमा आवद्ध गराउने नीति अवलम्बन गरिने छ ।

६. गाउँपालिका स्तरीय खेलकुद विकास समिति तथा वडास्तरीय खेलकुद विकास समिति गठन तथा परिचालन गरिने छ ।

छ. पूर्वाधार विकासः
१ “मजबुत सुरक्षित पूर्वाधार, दिगो विकासको आधार”को मान्यता सहितगाउँपालिका भित्रका सबै संरचनाहरूको गुणस्तर, दिगोपना र मजबुतीमा विशेष जोड दिदैं ठूला र दीर्घकालीन महत्वका पूर्वाधारजन्य योजना, निर्माण कार्य तथा संरचनाहरूको गुणस्तर परीक्षण ल्याब टेस्ट गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

२ गाउँपालिका भित्र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भइसकेका, रणनीतिक महत्वका सडकहरू, ग्रामीणकृषि सडक, गाउँपालिकाको सडक तथा पर्यटन गुरुयोजनाको प्राथमिकताका आधारमा अध्ययन गरीआवश्यक लगानी गरिने छ ।

३ “हाम्रो पूर्वाधार सबैलाई बराबर”कोनारा सहित हाम्रा सार्वजनिक संरचनाहरूलाई बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिक मैत्री र लैङ्गिकमैत्री बनाउँदै लगिनेछ ।

४ “हरित सडक सुरक्षित सडक” कार्यक्रमको व्यवस्था मार्फत गाउँपालिका भित्रका प्रमुख सडकहरूमा ट्राफिक चिन्हहरू तथा अन्य जानकारी मूलक बोर्डहरूको व्यवस्था गरिने छ । साथै मापदण्ड पुगेका सडकहरूको दाँयाबाया फलफूल, वृक्षारोपण लगायतको व्यवस्था गरी सौन्दर्य प्रवर्द्धन तथा अति जोखिमयुक्त सडकहरूमा दुर्घट्ना न्यूनीकरणको संरचनात्मक व्यवस्थाको थालनी गरिने छ ।

५ गाउँपालिका भित्रका बस्तीहरूलाई व्यवस्थित बनाउदै दिगो विकासमा सहयोग पुर्‍याउन सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडक निर्माण, सिंचाई, भवन निर्माण एवम भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि मापदण्ड बनाउनुका साथै भवन ऐन, २०५५ तथा नियमावली, २०६६, राष्ट्रिय भवन संहिता २०६० लगायतका कानूनी व्यवस्थाको पालनामा जोड दिइने छ ।

६ निर्माण कार्यको गुणस्तर नियन्त्रणको लागि छिमेकी स्थानीय तहहरूसँग समन्वय गरी प्राविधिक प्रयोगशाला निर्माणकोलागि प्रयास गरिने छ साथै भगिनी सम्बन्धका पूर्वाधारहरू निर्माण गर्न पहलकदमी लिईनेछ ।

७ विगतका वर्षहरूमा निर्माण सम्पन्न भइसकेका योजनाहरूको नियमित मर्मत सम्भार र सञ्चािलनका लागि स्थानीय सरोकारवालाहरूलाई जिम्मेवार बनाउने नीति लिईनेछ साथै तुरुन्तै मर्मत सम्भार गरी थप क्षति हुन नदिनका लागि मर्मत सम्भार कोषको परिचालनलाई थप व्यवस्थित बनाइने छ ।

८ स्वच्छ खानेपानीमा आम नागरिकको पहुँचलाई सुनिश्चित गर्न खानेपानी मुहान संरक्षण, शुद्धीकरण, संकलन केन्द्रको सुरक्षामा उपभोक्तालाई नै जिम्मेवार बनाइ“एकघर,एक स्वस्थ धारा”नीतिलाई निरन्तरता दिइने छ ।“एकघर, एकधारा” कार्यक्रम पूर्ण रूपमा सुचारु भइसकेका क्षेत्रमा यसै आ।व। मा जुठेल्नो सुधार कार्यक्रम सञ्‍चालनका लागि प्रोत्साहन गरिने छ ।

९ गाउँपालिका भित्रका जीर्ण झोलुङ्गे पुल विस्थापित गरी यसै वर्ष भित्र नयाँ निर्माण गर्न प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिने छ । साथै सामान्य मर्मतका कार्यहरूलाई गाउँपालिकाबाट बजेट विनियोजन गर्ने व्यवस्था मिलाईनेछ ।

१० शैक्षिक बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्ने किसिमका योजना छनौट गरी निर्माण कार्यमा यथा सम्भव स्थानीय श्रम, सिप र निर्माण सामग्री प्रयोग गर्ने नीति लिईनेछ ।

११ विद्युत आपूर्तिको अनियमितता अन्त्य गर्न सामुदायिक विद्युतीकरण उपभोक्ता समितिहरू र नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी यसैवर्ष भित्र काठका पोल विस्थापित गरिने छ । साथै लघु तथा साना जलविद्युतआयोजनाको नियमित मर्मत सम्भार र संचालन गर्न प्राथमिकता दिइने छ ।

१२ फोहोर मैला व्यवस्थापनको लागि विगतका वर्षहरूमा निर्माण गरिएका डम्पिङसाइट , इन्सिनिरेटरलाई थप व्यवस्थित गरिने छ । गाउँपालिका क्षेत्र भित्र फोहोरमैला संकलन, पृथकीकरण, ओसारपसार, कम्पोष्ट प्लान्ट संचालन सम्बन्धी कार्यहरूथालनी गरिने छ। फोहोरमैला व्यवस्थापनलाई संस्कारकै रूपमा स्थापित गर्न विद्यालय तहबाट नै थालनी गरिने छ ।

१३ विकास निर्माण लगायतका कार्यक्रमलाई समयमा नै सम्पन्न गरीअर्कोआ।व। मा व्ययभार सर्न जाने प्रकृयाको अन्त्य गर्न तथा विकास निर्माण अनुशासनलाई अनिवार्यपालना गर्नका लागि विगत वर्षको दायित्व आगामी वर्षमा नसार्ने प्रवृत्तिलाई निरुत्साहित गरिने छ ।

१४ जटिल प्रविधिको प्रयोग गर्नुपर्ने तथा उपभोक्ता समितिबाट कार्यान्वयन गराउँदा लागतप्रभावी नहुने प्रकृतिका योजनाहरू ठेक्कापट्टा विधिमार्फत कार्यान्वयन गरिने छ ।

१५ गाउँपालिका भित्र नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न सामुदायिक विद्युतीकरण उपभोक्ता समितिहरू र नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरिने छ ।

ज. सञ्चार तथा सूचना प्रविधिः
१ “मेरो घर, गाउँपालिकाको नजर”भन्ने नारालाई सार्थक तुल्याउन गाउँपालिकाका भित्रका सबै घरधुरीको अवस्था पहिचान गर्नका लागि क्यू।आर। कोड सहितको विद्युतीय घर नम्बर कायम गर्न शुरुआत गरिने छ।

२ गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढीकरण गरिने नीति अवलम्वन गरिने छ । स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा सँग जोड्न प्रत्येक विद्यालय तथा वडा कार्यालयलाई सूचना प्रविधियुक्त बनाई सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिकानिर्माणमा जोड दिइने छ ।

३ गाउँपालिकाका हरेक सूचना तथा समाचार, वडा कार्यालयहरूको विवरण, कार्यक्रमहरू, मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, अनुगमन प्रतिवेदन, आय व्यय विवरण, सार्वजनिक सुनुवाइ, ऐन कानुन निर्देशिका, कर तथा शुल्कहरू र जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पर्क विवरण वेबसाइट मार्फत नियमित अध्यावधिक गरी उपलब्ध गराइनेछ ।

४ सूचना प्रविधिको बढ्दो दुरूपयोगलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको दुरूपयोग, बालबालिकाहरूमा देखिएको डिजिटल एडिक्सन तथा समाजमा फैलिरहेको विद्युतीय अपराध साइबर क्राइम सम्बन्धमा विद्यालय तथा समुदायस्तरमा जनचेतना फैलाउने कार्य गरिने छ ।

५। गाउँपालिका क्षेत्रलाई आधार मानेर पत्रकारिता गर्ने पत्रकारहरूलाई सम्मान गरिने छ ।

६ गाउँपालिका भित्र सञ्चालित एफ।एम। रेडियो लगायत छापा माध्यमबाट सूचना प्रसारण गर्ने संघसंस्थाहरूलाई आवश्यकतानुसार सहयोग गरिने छ ।

७ सबै संचार माध्यमसँग समदुरीको नीति अख्तियार गरिने छ ।

झ. वन,वातावरण तथा विपद व्यवस्थापनः
१ “सामुदायिक वन समुदायको धन”को मुल मर्म सहित गाउँपालिकाभित्रका सामुदायिक वन उपभोक्ता समितिहरूसँग सहकार्य गरी सामुदायिक वनभित्रका उपयुक्त स्थानहरू जडीबुटी, फलफूल तथा बढी मूल्य पर्ने बिरुवाहरू रोपी समुदायको आय आर्जनको माध्यम बनाउन प्रोत्साहन गरिने छ ।

२ “हाम्रो गाउँ सुरक्षित बनाऔं”को नारा सहित बाढी, पहिरो लगायतका विपद जोखिमयुक्त बस्तीहरू संरक्षणगर्न, खोला कटान नियन्त्रण गर्नबायो इन्जिनियरिङ्गको प्रयोग व्यापकरूपमाअङ्गिकारगर्दै ड्रेनको कार्यहरू गर्नुका अतिरिक्त गाउँपालिकाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन र विपद व्यवस्थापनका सबै चरणका पूर्वतयारी सम्बन्धी व्यवस्था मिलाइनेछ ।

३ बढ्दोसिसा,प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुको प्रयोग र यसको व्यवस्थापनमा देखिएको चुनौतीलाई न्यूनीकरण गर्नका लागि विभिन्न प्रकारका सामाजिक समारोह, विवाह, चाडपर्व, उत्सव, मेला आदिमा प्लाष्टिकको सट्टा स्थानीय स्तरमा उत्पादित दुना, टपरीको प्रयोग गर्ने स्थानीय वासीहरूलाई प्रोत्साहनको व्यवस्था गरिने छ। गाउँपालिका मातहतका कार्यालयहरूमा प्लाष्टिक र प्लाष्टिकजन्य सजावटका सामग्रीहरूको प्रयोग र गाउँपालिकाभित्र मदिराजन्य सिसाहरूको प्रयोगमा निषेध गरिने छ ।

४ जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धमा अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालले गरेका महत्त्वपूर्ण प्रतिवद्धता र राष्ट्रिय लक्ष्यहरूलाई अत्यन्त संवेदनशील रूपमा ग्रहण गर्दै अनुकुलन र न्यूनीकरणका क्रियापलापहरू ठोसरूपमा अघि बढाइनेछ ।

५ “हाम्रो चाहना वातावरणमैत्री गाउँपालिका स्थापना”को लक्ष्य सहित आमसर्वसाधारण, बालबालिका र नागरिकको व्यवहार वातावरण र जलवायु मैत्रीबनाउन व्यक्ति, घरधुरी, विद्यालय, र टोल टोलमा फोहर मैला व्यवस्थापन, व्यक्तिगत र सार्वजनिक जग्गामा वृक्षारोपण, प्लाष्टिकको न्यून प्रयोग गर्दै वातावरण संरक्षण सम्बन्धमा गाउँपालिकाले तर्जुमा गरेका नीतिगत तथा कानूनी व्यवस्थाको कडाईका साथ पालनाको व्यवस्था गरिने छ ।

६ उन्नत र सुधारिएको चुह्लोको प्रयोग, प्राङ्गरिकखेती, कुहिने फोहरबाट कम्पोष्टमल, सडक किनारामा वृक्षरोपण, खेर गएको पानीको प्रयोग, प्रयोग गर्न सक्ने घरमा ग्याँसको सट्टा बढी मात्रामा ईण्डक्सन चुह्लो वा अन्य विद्युतीय चुह्लोको प्रयोग बढाउने, दैनिक जीवनमा ऊर्जा र पानीको प्रयोगमा किफायती बन्ने विषयहरूलाई प्रोत्साहन गर्दै नवीकरणीय ऊर्जा सौर्यको प्रयोगलाई समेत प्राथमिकतामा राखिनेछ ।

७ जलवायुजन्य विपद्रअतिशय घटनाबाट हुने हानी नोक्सानीबाट सङ्कटापन्न समुदायकोअनुकूलन क्षमता बढाउन बिमा सम्बन्धी सचेतना वृद्धि गरिने छ साथै गाउँपालिका भित्रका व्यावसायिक कृषकहरूको कृषि र पशु बिमा गराउने कार्यमा सहजीकरण गरिने छ ।

८ हाल बढिरहेको ग्याँस सिलिण्डर विस्फोट, आगजनी र दुर्घटनालाई मध्यनजर गर्दै गाउँपालिका भित्रका खाना पकाउने ग्याँस प्रयोगकर्ता नागरिकहरूलाई यस सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्था गर्नुका साथै एक घर एक, स्वचालित रेगुलेटर अभियानलाई प्राथमिकता दिइने छ ।

९ बढी उत्पादन भएको स्थानीय उपजलाई सुरक्षित रूपमा राख्न र प्राकृतिक वा मानवजन्य विपद्, महामारी वा काबु बाहिरको परिस्थितिका कारण हुन सक्ने खाद्यान्न अभावलाई मध्यनजर गर्दै गाउँपालिका स्तरीय खाद्य सुरक्षा बैंकको व्यवस्था गरिने छ । गाउँपालिका खाद्य सुरक्षा बैंकमा स्थानीय कृषकहरूबाटै उत्पादित खाद्यान्न खरिद गर्ने र यस्तो खाद्यान्न निश्चित समय पछि आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई गाउँपालिकाको विकास कार्यमा परिचालन गरी ज्यालाका रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

१० गाउँपालिकाभित्र रहेका विपद् जोखिमयुक्त स्थानहरूको पहिचान गर्नुका साथै बाढी, पहिरो, भूकम्प लगायतका विभिन्न प्राकृतिक विपद्का क्रममा प्रयोग गर्न सकिने गाउँपालिका भित्रका सुरक्षित स्थलहरूको पूर्व पहिचान सहितकोविपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गरीविपद्को समयमा उद्धार, राहत वितरण र पुनर्स्थापनका लागि एकद्वार प्रणालीको अवलम्बन गरिने छ जसका लागि गाउँपालिका आपतकालीन कार्यसञ्चालन केन्द्रलाई थप स्रोत साधनयुक्त र प्रभावकारी बनाइने छ ।

११ विभिन्न प्रकारका विपदबाट उत्पन्नर हुन सक्ने संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन कोषमा थप बजेटको व्यवस्था गरिने छ ।

ञ. संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१। सार्वजनिक सेवा प्रवाहको समय र प्रक्रिया, नियमानुसार लाग्ने दस्तुर, गुनासो सुन्ने अधिकारी लगायतको जानकारीसहित गाउँपालिका अन्तर्गतका सबै निकायहरूमा नागरिक बडापत्रको थप प्रभावकारी व्यवस्था गरिने छ ।

२. व्यक्तिगत घटना दर्ता घटेको ३५ दिनभित्र घटनादर्ता गर्ने सेवाग्राहीहरूलाई सम्मान गरिने छ ।

३ सेवाग्राहीको सुझाव, सेवा प्रवाहमा सुधार भन्ने नाराका साथ हाम्रो सेवा प्रवाह सम्बन्धमा सेवाग्राहीहरूको पृष्ठपोषण लिनका लागि हाल गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको सेवाग्राही सन्तुष्टि पेटिकाको व्यवस्थालाई गाउँपालिका अन्तर्गतका अन्य निकायहरूमा समेत लागुगरिने छ ।

४ योजना शाखाको कार्यलाई छिटो, छरितो, पारदर्शी, प्रभावकारी तथा प्रविधिमैत्री बनाउनका लागि योजना व्यवस्थापन सफ्टवेयर प्रणालीको व्यवस्थापन गरी कार्यान्वयन गरिने छ । गाउँपालिकाभित्रका योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने उपभोक्ता समितिहरूलाई तालिम प्रदान र योजना खातालाई थप सरल, सहज र व्यवस्थित गर्दै योजना सम्झौता, फरफारक र भुक्तानीका कार्यहरू समेत सम्बन्धित वडामै पुगरे गर्ने प्रबन्ध मिलाइनेछ ।

५ अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय लगायतका संवैधानिक निकायहरूबाट वार्षिक रूपमा उल्लेख गरिएका सुझाव तथा निर्देशनहरूको पालना गरी सुशासन वृद्धि र भ्रष्टाचार न्यूनीकरणको नीति अवलम्बन गरिने छ ।

६ गाउँपालिकाबाट कार्यान्वयन हुने योजना, कार्यक्रममा वित्तीय जोखिम न्यूनीकरणका लागि निर्माण र खरिद प्रक्रियालाई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन वार्षिक खरिद योजना बनाई ईबिडिङलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ ।

७ नेपाल सरकारबाट सञ्चालनमा ल्याइएका सफ्टवेयर प्रणाली जस्तै क्ग(त्चब, एब्ःक्, ख्भ्च्क्एःक्ष्क्, ऋन्ब्क्, ऋःक्ष्क्, ःइँब्न्ब् पोर्टल इत्यादी प्रणालीहरूको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइने छ ।

८ सेवा प्रवाहमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, महिला तथा बालबालिकाहरूलाई प्राथमिकता दिइने छ ।

९ भ्रष्टचारविरुद्ध शून्य सहनशीलताको नीति लिई पारदर्शिता, जवाफदेहीता, र सुशासन वृद्धिको लागि आधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गरिने छ ।

१० गाउँपालिकाबाट सम्पादन हुने कार्यहरूलाई नियमानुसार सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइलाई थप प्रभावकारी बनाउँदै “भ्रष्टाचारमुक्त सुशासनयुक्त स्थानिय तह”का रूपमा स्थापित” हुने निरन्तर कदम चालिनेछ ।

११ शासकीय स्वच्छता र सुशासनको मूल्यमान्यता अनुरूप हरेक गाउँ कार्यपालिकाको बैठकमा मासिक, चौमासिक रूपमा शीर्षकगत आय व्यय प्रस्तुत गर्ने र वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्थालाई निरन्तरता गर्नुका साथै कार्यालयको सूचनापाटीमा समेत प्रकाशन गरिने छ ।

१२ कर्मचारी तथा शिक्षकहरूको गाउँपालिकाभित्र सरुवा, पुरस्कार, सजाय, वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइने छ ।

१३ कर्मचारीहरूमा सेवा प्रवाह सम्बन्धी चुस्तता ल्याउन र थप सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न क्षमता विकास रविभिन्न तालिमको व्यवस्था गरिने छ ।

१४. राजनैतिक रूपमा तटस्थ,जनउत्तरदायी, पारदर्शी, निष्पक्ष र नतिजामुखी प्रशासन निर्माण गरिने छ ।

१५. गाउँपालिका अन्तरगतका कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीहरूलाईराष्ट्र निर्माणर गाउँपालिकाको विकासमा नागरिकहरूको कर्तव्यर असल नागरिकका रूपमा निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी जानकारी सहितको बुकलेटको व्यवस्था गरिने छ ।

ट. राजश्व नीतिः
१. गाउँपालिकाको आन्तरिक राजस्व सुधार कार्ययोजना र भूउपयोग वर्गिकरण योजना अनुसार सबै वडाहरूमा जग्गाको वर्गीकरण तथा आन्तरिक राजस्वका थप स्रोतहरूको पहिचान गरी करको नक्साङ्कन गर्ने कार्यमा वैज्ञानिक पद्धतीको अवलम्बन गरिने छ ।

२.गाउँपालिका क्षेत्रभित्र भएका रहेका सबै व्यापार व्यवसाय, संघसंस्था, क्लब दर्ता गर्ने अभियानलाई तिव्रताका साथ अगाडि बढाइने छ ।

३. गाउँपालिकाभित्र ढुङ्गा गिट्टि, बालुवा, दहत्तर वहत्तर तथा नदिजन्य पदार्थ र कवाडीजन्य मालसामानको निकासी प्रणालीलाई व्यवस्थित तुल्याउन सम्भाव्य सबै क्षेत्रहरूलाई करको दायरामा ल्याइनेछ ।

४. “तिरेको कर विकास मार्फत फर्किन्छ घर घर”भन्ने मान्यताका साथ सबै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्तीकर सङ्कलन सप्ताह सञ्चालन गरिने छ। सम्पत्ति र भूमिकर ९मालपोत० को लागि चालू आर्थिक वर्षको पौष मसान्तसम्म कर बुझाएमा छुटको व्यवस्था गरिने छ ।

५. बरेङ गाउँपालिका भित्रका सबै करदाताहरूको लगत अद्यावधिक गरी नियमित र सबैभन्दा बढि कर तिर्ने करदाताई सम्मान गरिने छ । समयमा कर नतिर्नेलाई थप जरिवाना गर्दै लामो समय देखि कर नतिरी अटेर गर्नेलाई गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधा रोक्का गरिने छ ।

६. धार्मिक पर्यटकीय क्षेत्र साग्दि सत्यवती मन्दिर व्यवस्थापन समितिसँगको सहकार्यमा अस्थायी पसल तथा व्यवसाय र पार्किङ संरचना तयार गरी सो क्षेत्रलाई गाउँपालिकाको करको दायरामा ल्याइनेछ ।

७. गाउँपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र सम्वन्धी, आर्थिक रूपमा विपन्नहरूको निःशुल्क उपचार सम्वन्धी तथा प्राकृतिक प्रकोपसम्वन्धी सिफारिस दस्तुर छुटको नीति अवलम्बन गरिने छ ।

अन्य क्षेत्रहरूः
सुरक्षा व्यवस्थापन
१. गाउँपालिकाभित्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा विगतमा व्यवस्था गरिएका सिसि क्यामेराहरूको नियमित मर्मत सम्भार गर्नुका साथै आवश्यकतानुसार थप गरिने छ ।

२. गाउँपालिकाभित्रका प्रहरीचौकीहरूलाईआवश्यकतानुसार उपलब्ध गराईने सहयोगलाई निरन्तरता दिइने छ ।

३. गाउँपालिकाभित्र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला र गाउँपालिकाभित्रका सबै सुरक्षा निकायहरूसँग समुचित समन्वय कायम गरिने छ।

निजी तथा गैरसरकारी संघ संस्थाः
१. गाउँपालिकाको समग्र क्षेत्रहरूमा सन्तुलित विकास गर्नका लागि निजी तथा गैरसरकारी संघ संस्थाहरूसँग सहकार्य गरिने छ ।

२. निजी तथा गैरसरकारी संघ संस्थाहरूको क्रियाकलापलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय आवश्यकतासँग सामञ्जस्यता कायम गर्ने व्यवस्था गरिने छ ।

३. गाउँपालिकाभित्र सञ्चालित गैरसरकारी संघसंस्थाहरूको नियमित अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

४. निजी क्षेत्रसँग रहेको पुँजीलाई गाउँपालिका भित्र परिचालन गर्ने वातावरण निर्माण गरिनुका साथै सामाजिक उत्तरदायित्व९क्यअष्ब िऋयचउयचबतभ च्भकउयलकष्दष्ष्तिथ० बहन गर्नेतर्फ उन्मुख गराइनेछ ।

गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले प्रस्तुत गरेको बजेट बिनियोजन तर्फ नेपाल सरकार र प्रदेश सरकारका अनुदान, राजस्व वाडफाड, गत आर्थिक वर्षको अल्या र गाउँपालिका अनुमानित आन्तरिक राजस्व समेत समेटि कुल ३८ करोड १५ लाख ११ हजार रुपैंयाको वजेट प्रस्तुत गरेका छन् ।

जसमध्ये विनियोजन योग्य निशर्थ पुजिगत वजेट अन्तर्गत ७ करोड २४ लाख ५५ हजार ८ सय ५० रुपैंया, वडा स्तरीय योजना ३ करोड रुपैंया, बिषयगत शाखा ४ करोड ६१ लाख ३१ हजार १ सय ५० रुपैंया, समपूरक कोष ३ करोड ३० लाख रुपैंया, गाउँपालिका स्तरीय योजना र कार्यक्रम १ करोड ३३ लाख ८० हजार ८ सय ५० रुपैंया विनियोजन गरिएको छ ।

“समृद्ध बरेङ, सुखी बरेङवासी”को दीर्घकालीन लक्ष्यमा पुग्न गाउँपालिकाले अवलम्बन गरेको वार्षिक नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सबै जनप्रतिनिधि,कर्मचारी, शिक्षक, समाजसेवी, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मी, गैरसरकारी संघसंस्था तथा सबै विकास प्रेमी बरेङवासी नागरिकहरूको रचनात्मक सहयोगको अपेक्षा गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर